एजेन्सी, साउन १९-भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिइरहेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहपछि कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पालाई कोरोना संक्रमण भएको छ ।
उनले भनेका छन्, ‘हालत ठीकै छ तैपनि चिकित्सककाे सुझावअनुसार अस्पताल भर्ना हुँदैछु । मेरो सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा रहनका लागि अनुरोध गर्दछु ।’
तमिलनाडुका राज्यपाल पनि संक्रमित
सोमबार नै तमिलनाडुका राज्यपाल बनवारी लाल पुरोहितमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चिकित्सकले उनलाई घरमा अलग्गै बस्न सुझाव दिएका छन् । उनको निगरानी घरमै चिकित्सकहरूले गर्नेछन् ।
यूपीमा कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहान उत्तर प्रदेशका प्राविधिक शिक्षामन्त्री कमलरानी वरुणको निधन भएको छ । उनी कोरोना संक्रमण पुष्टि भएपछि लखनऊस्थित सञ्जय गान्धी पीजीआइमा भर्ना भएका थिए ।
भाजपा प्रदेश अध्यक्ष र मन्त्री संक्रमित
आइतबार साँझ उत्तर प्रदेश भाजपाका अध्यक्ष स्वतन्त्रदेव सिंह पनि कोरोना पोजिटिभ पाइएका छन् । उनले ट्वीट गर्दै यस कुराको पुष्टि गरेका छन् । यसैबीच उत्तर प्रदेश सरकारका जलशक्ति मन्त्री महेन्द्र सिंहको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ ।