विराटनगर, साउन १७–भ्रष्टाचार विरोधी छवि बनाएका नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटिपिट भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा २ कर्मचारीले कुटपिट गरेका हुन् ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुख सञ्जेल माथि आक्रमण भएको जानकारी दिए ।
सञ्जेलमाथि टेबुलमाथि राखिएको विभिन्न सामानले प्रहार भएको प्रहरीले जनाएको छ। दुवैजना कार्यालयका करार कर्मचारी हुन् । प्रहरी उपरिक्षक खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । कुटपिटबाट सञ्जेलको शरिरका विभिन्न भागमा चोट लागेको छ ।