काठमाडौं, २७ असार-शनिबार एकै दिन ३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले काठमाडौंका २ जना र सिन्धुपाल्चोकका १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
उनका अनुसार काठमाडौं महानगरपालिका-१० शंखमूलका ६० वर्षीय पुरुषको २६ असारमा मृत्यु भएको हो । उनको फोक्सोमा पानी जमेको र मिर्गौला रोग पीडित रहेको र १६ असारमा पाटन अस्पतालमा भर्ना भएका थिए । उनको १७ असारमा कोरोना पुष्टि भएका थियो ।
यस्तै, पाटन अस्पतालमै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनी क्षयरोगको उपचारका लागि १८ असारमा अस्पताल भर्ना भएकोमा २२ असारमा कोरोना पुष्टि भएको थियो । उनको २५ असारमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।
यस्तै, काठमाडौंको अर्का १ पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका-४ घर भएका ५४ वर्षीय पुरुषको २५ असारमा उपचारको क्रममा मृत्यु भएको गौतमले बताए । उनी मिर्गौला रोगका बिरामीसमेत रहेको उनको भनाइ छ ।