काठमाडौं, २५ असार-राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सदस्य मोहना अन्सारीको ट्वीटप्रति ध्यानाकर्षण भएको जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष शर्माले मंगलबार सदस्य अन्सारीले गरेको ट्वीटप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
अन्सारीले मंगलबार ट्विटरमा समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीमाथि आफ्नो विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक भएको टिप्पणी गरेकी थिइन् ।
अध्यक्ष शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानविन प्रतिवेदन’ भनी दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्छ ।’
विज्ञप्तिमा १५ असारमा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको भए पनि यस्तो अभिव्यक्ति आउनु खेदजनक भएको भन्दै भ्रममा नपर्न आग्रह गरिएको छ ।