काठमाडौं, ११ असार-हुण्डी कारोबारीले साथमा लिइआएको रकम बाँडफाँड गरी भ्रष्टाचार गरेको आरोपमा अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ वीरगञ्जका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
प्रहरी सहायक निरीक्षक तामाङ, प्रहरी हवल्दार विष्णु दयाल चौधरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राजकुमार गरुङसँग मिलेर हुण्डी कारोबारीले ल्याएको २० लाखबाट ७ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ ।
आयोगले प्रसनी तामाङ, प्रहरी हवल्दार चौधरी, जवान राय र गुरुङविरुद्ध ७ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । बयानका क्रममा प्रसनी तामाङलाई सजाय हुनबाट बचाउने प्रयास गरी उक्त कसुरको मतियार ठहर गर्दै कावासोती नगरपालिका–५ बस्ने सोनाम तामाङविरुद्ध पनि आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।