भारत–चीनका सैनिकबीच झडपबारे अमेरिकाले दियो प्रतिक्रिया - News Birat

भारत–चीनका सैनिकबीच झडपबारे अमेरिकाले दियो प्रतिक्रिया

न्यूज विराट

एजेन्सी, असार ५-अमेरिकाले गलवान घाँटीमा भारत र चीनका सैनिकबीच सोमबारराति भएको हिंसात्मक झडपबारे पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्विट गर्दै भारतीय सैनिक मारिएकोमा समवेदना प्रकट गरेका छन् ।

पोम्पेओले भनेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण मारिएका भारतीय सैनिकका परिवारमा समवेदना प्रकट गर्दछौं । शोक मनाइरहेका  सैनिकका परिवार, उनीहरुका आत्मीयजन र जनसमुदायप्रति स्मरण गरिरहेका छौं ।’

भारत र चीनबीचको तनावबीच अमेरिकाले चीनसँग रहेको सम्बन्धमा देखिएको दरार कम गर्न लागेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनका शीर्ष कूटनीतिज्ञ यांग जेइचीसँग सात घन्टा बैठक गरेका छन् । दुई जनाबीच डिनर बैठक ७ घन्टा लामो भएको थियो ।

यो छलफलले सबै समाधान नभएपनि अहिलेको तनावमा कमी आउने विश्वास विज्ञहरुले गरेका छन् । यो बैठकले दुवै देशले तनाव थप बढ्न नदिन चालेको कदमका रुपमा हेरिएको छ ।

चीनले यो कुराकानी रचनात्मक भएको बताएको छ । यांगले अमेरिकालाई हङकङ, ताइवान र शिन्जियांगको विषयमा कुनै हस्तक्षेप नगर्न आग्रह गर्दै यो चीनको आन्तरिक मामला भएको बताएका थिए । पोम्पेओले चीनलाई कोरोना भाइरसको महामारीबारे चीनसँग रहेका सूचना सार्वजनिक गर्न आग्रह गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles