रुकुम, ४ असार-रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका-८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको ४ दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो ।
पहिलो दिन सोमबार २ नाबालक, दोस्रो दिन मंगलबार ९, तेस्रो दिन बुधबार १० र चौथो दिन आज ८ प्रतिवादीको बयान लिइएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।
बयान सकिएपछि अब थुनछेक बहस सुरु हुनेछ । अभियोग लागेका प्रतिवादीले आफ्नो बयान राखिसकेकाले शुक्रबारदेखि अदालतमा छुनछेक बहस सुरु हुने स्रेस्तेदार बोहराको भनाइ छ । जाजरकोटका ५ र रुकुम पश्चिमका १गरी ६ युवाको ज्यान जाने गरी गत १० जेठमा भएको घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका २९ जना र फरार रहेका ५ जनासमेत गरी ३४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
सोती गाउँका ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा तथा जाजरकोटका १ जनाविरुद्ध मतियार कसूरमा मुद्दा लागेको छ । घटनामा संलग्न भएको आरोपमा मुद्दा लागेका २ नाबालकलाई भने अदालतले सोमबार मुद्दा पुर्पक्षका लागि बालगृहमा पठाउन आदेश दिएको थियो । उक्त आदेश अनुसार प्रहरीले केटालाई नेपालगञ्ज र केटीलाई भक्तपुरको बालसुधारगृहमा पठाएको छ ।
यसैबीच, फरार प्रतिवादीका हकमा भने अब अदालतले भनेअनुसार हुने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । मुद्दा अदालतमा गइसकेकाले अदालतले पक्राउको चिठ्ठी पठाएपछि फरार प्रतिवादीलाई पक्राउ गरिने उनको भनाइ छ । प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा फरार छन् । रासस