काठमाडौं, ४ असार-कुवतेबाट १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली केहीबेरअघि जजिरा एअरमार्फत काठमाडौं आइपुगेका हुन् ।
कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले निःशुल्क स्वदेश पठाएको छ । यसअघि चारवडा उडानमार्फत् ५ सय ९८ जना स्वदेश फर्किसकेका छन् । त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकालाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ ।
ओमानबाट १८० जना नेपाली स्वदेश फर्कने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । ओमानबाट सलाम एअरले चार्टर्ड उडानमार्फत् १८० नेपाली स्वदेश ल्याउन लागेको हो । सलाम एअरले नेपाल सरकारले तोकेको भन्दा सस्तो भाडादरमा नेपालीलाई पठाइदिएको छ ।
र फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिनेछ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरूलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउनेछ । यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशंका भएमा काठमाडौंकै आपलकालीन क्वरेन्टाइनमा राखिने छ । सरकारले विदेशबाट घर फर्किएका नेपालीलाई आपलकालीन अवस्थामा राख्नको लागि काठमाडौंमा पनि झण्डै १५ सय क्षमताको क्वारेन्टाइन बेडहरूको व्यवस्था गरेको छ ।