काठमाडौं, २६ जेठ-युवा तथा खेलकूदमन्त्री जगत बहादुर सुनारले एकजना सांसदले आफ्नो प्रतिष्ठामा आँच पुरयाउने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिलाई प्रमाणित गर्न चुनौति दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदले राखेको प्रश्नको उत्तर दिने क्रममा उनले सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको इज्जत, प्रतिष्ठा, इमान र छबिलाई विनाआधार कसैलाई धमिल्याउन छुट नभएको बताए । उनले विनाप्रसंगका विषय जोडेर मन्त्रीलाई विवादमा तान्न खोज्नु उचित नहुने टिप्पणी गरे ।
‘सार्वभौम संसदको यो रोष्टममा उभिरहँदा आज म अत्यन्तै गम्भीर र दुखी छु । एकजना माननीय सदस्यले पर्सा विरगञ्जको नारायणी रंगशालाका बारेमा बोल्दै गर्दा ‘माननीय मन्त्री ज्यूलाई एन्फाले पनि बढा माया गरेको छ ।
सुन्नमा आएको छ कि १७ करोड रुपैयाँ एन्फाले पनि उहाँलाई दिएको छ भनेर भन्नुभयो ।’ माननीय ज्यूले के भन्न खोज्नुभएको हो ? आसय के थियो ? माननीय ज्यूले नै स्पष्ट गर्नुपर्यो । म सम्माननिय सभामुख महोदय मार्फत अनुरोध गर्न चाहन्छु’ उनले भने । आफूले कोही कसैबाट एक रुपैयाँ नलिएको भन्दै आफूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन ती सांसदलाई चुनौति दिए ।