भारतीय सञ्चारमाध्यममा ‘ग्रेटर नेपाल’, भन्छ–सुगौली सन्धिमा नक्सा टुंगो लागेको थिएन - News Birat

भारतीय सञ्चारमाध्यममा ‘ग्रेटर नेपाल’, भन्छ–सुगौली सन्धिमा नक्सा टुंगो लागेको थिएन

न्यूज विराट

एजेन्सी, जेठ २२-नेपाल र भारतबीच पछिल्लो समयमा सीमा विवाद उत्कर्षमा छ । दक्षिण एसियामा भारत एकैपकट नेपाल, पाकिस्तान र चीनसँग सीमा विवादमा अल्झिएको छ भने बंगलादेशसँग सीमा विवाद पुरानै समस्या हो ।

यस्तो अवस्थामा भारतका सञ्चारमाध्यम पछिल्लो समयमा नेपालसँगको सीमा र ऐतिहासिक प्रमाणहरु खोतल्ने प्रयासमा लागेका छन् । तर उनीहरुसँग नेपाली भूमि हडप्नका लागि दाबी गरिएको कृत्रिम काली नदीको बाहेक अर्को प्रमाण छैन ।

यसै क्रममा भारतको चर्चित सञ्चारमाध्यममा ‘ग्रेटर नेपाल’ को तस्बिर छापिएको छ । सन् १८१६ को सुगौली सन्धीअघि नेपाली भूभाग रहेका भारतीय क्षेत्रसहित यो नक्सा प्रकाशित भएको छ ।

जसमा पश्चिम नेपालको सीमा पूर्वमा मेची र पश्चिममा महाकाली हुने भनिएपछि सीमाबारे ठोस निर्णय नभएको उल्लेख गरेको छ । भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोबर जानका लागि तीनवटा बाटाहरु, सिक्किमको नाथु ला, नेपाल र उत्तराखण्डबाट रहेको उल्लेख गरिएको छ ।

यद्यपि भारतले हालै यही उत्तराखण्डबाट कैलाश मानसरोबर जाँने सडक निर्माण गरेको विषयमा विवाद उत्पन्न भएको छ । नेपालको लिपलेक हुँदै जाने यो सडक करिब ८० किलोमिटर लामो रहेको छ । जबकि नाथु लाबाट मानसरोबर जानका लागि ९ सय किलोमिटर र नेपालको तातोपानी नाका हुँदै जानका लागि ५४० किलोमिटर रहेको छ ।

जहाँबाट मानसरोबर जान २० देखि २२ दिनसम्म लाग्छ । तर लिपुलेक हुँदै यो मार्ग भारतले कब्जा गर्न सक्यो भने यो यात्रा केबल ३ दिनमा गर्न सकिन्छ ।

उत्तराखण्डबाट पनि तीन वटा मार्ग रहेका छन् । जसमध्ये पहिलो पिथौरागढबाट तवाघाट । यसको लम्बाई १०७ किलोमिटर रहेको छ ।

अर्को तवाघाटबाट घटियाबगढ, जुन साढे १९ किलोमिटर रहेको छ भने तेस्रो घटियाबगढबाट लिपुलेक हुँदै जान सडक, यो करिब ८० किलोमिटर रहेको र यसको ७६ किलोमिटर सडक निर्माणको काम पुरा भइसकेको छ । जुन सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले ८ मेमा उद्घाटन गरेपछि सीमा विवाद उत्कर्षमा छ ।

सुगौली सन्धीमा नेपालको पश्चिमी सीमा महाकाली नदी हुने बताइएको छ । तर त्यसपछि पनि सीमाका विषयमा पटक पटक समस्या आएको देखिन्छ । महाकाली नदी केही अलग अलग धारा मिलेर बनेको छ ।

त्यसैले महाकालीको वास्तविक मुहान कुन् हो भन्ने विषय नै दुई देशबीचको सीमा विवादको जडको रुपमा रहेको छ । महाकालीको सबैभन्दा ठूलो हिस्सा नै महाकाली नदी भएकोमा नेपाल प्रष्ट छ ।

भारतले कालापानी क्षेत्रबाट आएको सानो धारालाई कालापानी दाबी गर्दै आएको छ, जुन कुरा ब्रिटिसकालीन नक्साले समेत खण्डन गर्छ । सोही आधारमा पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको सीमाभित्र पर्छ ।

जबकि भारतले महाकाली नदीका सबै धारा कालापानी गाउँमा आएर भेट हुने भएकाले नदीको उद्गम स्थल यसैलाई मान्नुपर्ने र यस्तो अवस्थामा लिपुलेक भारतको भएको उसको दाबी छ । तर सुगौली सन्धीमा मुख्य धारालाइ नदी मानिएको कुरा उसले अस्वीकार गरेको छैन ।

सन् १९९९ मा गोरखाका राजा बनेका पृथ्वी नारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरे । उनले थालेको अभियान उनका छोरा रणबहादुर शाहले अघि बढाए र विशाल नेपालको निर्माण भयो ।

सन् १८१६ मा सुगौली सन्धि हुनुभन्दा अघि नेपालको सीमा करिब साढे २ दशक चलेको नेपाल राज्यको विस्तार अभियानमा पूर्वमा टिस्टा नदी र पश्चिममा सतलज नदीसम्म नेपालको सीमा कायम भयो । तर सन् १८१६ को अपमानजनक सुगौली सन्धिमार्फत नेपालले जितेको एक तिहाई क्षेत्र गुमाउनुपर्‍यो ।

नेपालसँग कसरी सीमा विवाद भयो भन्ने विषयमा भास्कर लेख्छ, ‘सुगौली सन्धिअनुसार नेपाल मेचीदेखि महाकाली सम्म त सीमित भयो तर यसका नेपालको सीमा तय भएको थिएन । यसैको परिणाम स्वरुप कालापानी–लिम्पियाधुरा, सुस्ता, मेची क्षेत्र, टनकपुर, सन्दकपुर, पशुपतिनगरसहित ५४ स्थानमा सीमा विवाद रहेको छ ।’

सुगौली सन्धि भन्दापछिको १४६ वर्षसम्म कालापानी लिपुलेक क्षेत्रलाई लिएर विवाद भएको देखिदैन । तर चीनसँगको युद्धका समयमा भारतले कालापानी क्षेत्रमा सेना राखेपछि नहटाएका कारण यहाँ विवाद चर्किएको देखिन्छ ।

समाचारमा सन् २००० मा नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतका प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग सीमा विवाद समाधान गर्नका लागि आग्रह गरेको दाबी गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles