काठमाडौं, १९ जेठ-सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली उद्धार गर्ने सम्पूर्ण तयारी गरेको छ । विदेशबाट उद्धार गर्न लागिएका नागरिकको खर्चका बारेमा सरकारले छलफल र कार्यविधि बनाएको छ ।
वैदेशिक रोजगारीमा कार्यरत कामदारको उडान खर्च रोजगारदाता कम्पनी ब्यहोर्नुपर्ने ‘कोरोना विदेशबाट नागरिक उद्धार सहजीकरण गर्ने आदेश २०७७’ मा उल्लेख गरिएको छ ।
यदि रोजगारदाता कम्पनीले खर्च ब्यहोर्न नसक्ने अवस्था भएका कामदारको खर्च म्यानपावर कम्पनीले ब्यहोर्नुपर्ने आदेशमा उल्लेख छ । भारतबाहेक देशमा वैदेशिक रोजगारीमा गएका कामदारलाई म्यानपावर, रोजगारदाताले खर्च ब्यहोर्न नसके श्रमिक स्यमले खर्च तिर्नुपर्ने आदेशको खर्च व्यवस्थापनमा उल्लेख छ ।
परराष्ट्र मन्त्रालयका अनुसार पहिलो चरणमा रोजगारीका लागि धेरै नेपाली कामदार गएका देशलाई प्राथमिकता दिइएको छ । पहिलो चरणमा खाडी देश र मलेसियाबाट करिब १७ हजार नेपाली कामदार ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।