काठमाठौं, जेठ १७-नेपाली कांग्रेसले संघीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बस्ने बैठकमा संविधान संशोधन प्रस्तावलगायत समसामयिक विषयमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यही जेठ ११ गतेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले सरकारद्वारा संसद्मा प्रस्तुत संविधान संशोधनसम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज केन्द्रीय समिति बैठक बोलाइएको हो ।
सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि जेठ ९ गते संघीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।