डब्लुएचओसँग अमेरिकाले सम्बन्ध तोडेको ट्रम्पको घोषणा - News Birat

डब्लुएचओसँग अमेरिकाले सम्बन्ध तोडेको ट्रम्पको घोषणा

न्यूज विराट

एजेन्सी, जेठ १७-अमेरिकाले कोरोना भाइरसको महामारीबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ पूर्ण रुपमा चीनको इशारामा चलेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन् ।

उनले डब्लुएचओ आफूलाई परिवर्तन गर्ने प्रक्रियामा असफल भएको आरोप लगाउँदै सम्बन्ध अन्त्य गरेको बताएका हुन् । उनले चीनले वार्षिक ४ करोड डलर दिएपनि उसको इशारामा चलेको र अमेरिका ४५ करोड दिँदा पनि आफूहरुको कुरा नसुनेको उनको गुनासो थियो ।

उनले डब्लुएचओलाई सुधार गर्न आफूहरुले आग्रह गरेपनि त्यसमा केही परिवर्तन नआएकोले अमेरिकाले डब्लुएचओसँग आफ्नो सम्बन्ध तोडेको बताए ।

उनले वुहानमा फैलिएको कोरोना भाइरसबारेमा जानकारी लुकाएर विश्वमा नै फैलाएको आरोप समेत लगाए । उनले चिनियाँ अधिकारीले डब्लुएचओबाट समेत जानकारी लुकाएको उनको आरोप थियो ।

उनले अमेरिकी शेयर बजारमा सूचिकृत भएका चिनियाँ कम्पनीविरुद्ध समेत कडा कारबाही गर्ने बताएका छन् । यस्तै उनले हङकङलाई लिएको व्यापार र यात्रा सुविधा समेत अन्त्य गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले चीनले बेलायतसँग भएको व्यापार सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् । चीनले हालै हङकङमा नयाँ सुरक्षा कानुन ल्याएको छ । ट्रम्पको पछिल्लो घोषणाको अमेरिकामा नै सामाजिक सञ्जालमा कडा आलोचना सुरु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles