काठमाडौं, १५ जेठ-बिहीबार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । आज १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा १ सय ५६ जनाको कोरोनासम्बन्धी रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरानमा २ जनामा कोरोना संक्रमण देखिएको छ । दुवैजना सप्तरी जिल्लाका रहेका छन् । विराटनगरको कोसी अस्पतालमा २५ जनाको नमुना पोजेटिभ देखिएका छन् । संक्रमित २५ जना नै झापाका रहेका छन् ।
त्यसैगरी, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी नवलपुरका हुन् । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ७७ जनाको पोजेटिभ आएको छ । ७७ मध्ये धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका २ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहा ६ जना, दोलखाका २ जना र सोलुखुम्बुका १ जना रहेका छन् ।
सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये बझाङका १ जना, सुर्खेतका १३ जना, १ जना बोल्न नसक्ने महिला, दैलेखका ८ जना रहेका छन् ।
प्रदेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा ३ जनामा कोरोना देखिएको छ । उनीहरू सबै स्याङ्जाका हुन्। । सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये १ जना दर्चुलाका र कैलालीका २ जना रहेका छन् । हेटौँडामा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । उनी हेटौँडा निवासी हुन् ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । उनीहरूमध्ये बर्दियाका ३ जना र १ जना बाँकेका रहेका छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू सबै रौतहटका रहका छन् । योसँगै नेपालमा बिहीबार मात्रै १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको हो ।
बिहीबारसम्मको विवरणअनुसार १ सय ८७ जना निको भएर घर फर्किएका छन् । निको हुने १ सय ४४ पुरुष, ४३ जना महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुरका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
बिहीबारसम्म ६० हजार ६ सय ९६ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । १ लाख २ हजार ३४ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा २ हजार ४ सय १९ नमुनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १ हजार ७ सय ४७ जनाको परीक्षण गरिएको छ ।
बिहीबारसम्म ८६ हजार ५९ जना क्वारेन्टाइनमा रहेका छन् भने सम्भावित संक्रमित र संक्रमित गरी देशका विभिन्न ठाउँमा ८ सय ५० जना आइसोलेसनमा रहेका छन् ।