गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकताः अध्यक्ष प्रचण्ड - News Birat

गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकताः अध्यक्ष प्रचण्ड

न्यूज विराट

काठमाडौं, १५ जेठ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भएर जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

गणतन्त्र दिवस-२०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको बताएका छन् ।

गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राणको उत्सर्ग गर्ने शहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष दाहालले बेपत्ता योद्धा र घाइते योद्धाको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गरको छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिने सम्पूर्णको उच्च प्रशंसा गर्दै उनले यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना गरेका छन् । रासस

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles