एजेन्सी, जेठ १४-संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।
अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा १३१ जना स्वयंसेवीलाई खोप दिनेछ र यसको प्रभावकारिताका संकेतहरूको जाँच गर्नेछ, कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले बताए ।
कोरोनाभाइरसविरुद्ध विश्वभर एक दर्जन प्रयोगात्मक खोपहरू परीक्षणका क्रममा रहेका छन् । प्रायः यी खोपहरू चीन, अमेरिका र युरोपमा परीक्षण भइरहेका छन् । तर, अहिलेसम्म कुनै पनि खोप सुरक्षित र प्रभावी साबित भइसकेका छैनन् । यी खोप निर्माणमा भिन्न तरिका र उच्च प्रविधि अपनाइएका छन् ।
ग्लेनले नोभाभाक्सको मुख्यालय मेरिल्यान्डबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै भने, “हामी समानान्तर डोज बनाउँदैछौं र हामीले यस वर्षको अन्तमा खोप सार्वजनिक प्रयोगमा ल्याउन सक्षम हुनेछौँ ।’
पशुमा गरिएको परीक्षणमा खोपको न्यून डोज प्रभावकारी देखिएको छ । उनले नोभाभाक्सले यस वर्ष कम्तिमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा १.५ अर्ब डोज उत्पादन गर्न सकिने बताए ।