विराटनगर, जेठ ९–मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्र्मी सञ्चार सहकारी संस्था र स्वयं बिमित व्यक्तिको सहकार्यमा १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरिएको हो ।
बिमा सम्झौतामा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल एजेड बीमा कम्पनीका क्षेत्रीय शाखा प्रमुख केदारबहादुर खत्रीले शुक्रबार हस्तान्तरण गरे । मोरङमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको बेला पत्रकारहरुको कोरोना बिमा गरिएको हो । फ्रन्ट लाइनमा रहेर काम गरिरहेका संचारकर्मीलाई कोरोना संक्रमण भएको प्रमाणित भएलगत्तै दाबी गरे १ लाख रुपैयाँ पाउने पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्यले जानकारी दिए ।
बिमा कम्पनीका अनुसार सामूहिक, पारिवारिक वा संस्थागत बिमा गराउनेलाई प्रतिव्यक्ति ६ सय लाग्ने र व्यक्तिगतगरे प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्नेछ । यो बिमा सेवा सबैलाई लागू हुने कम्पनीका क्षेत्रीय प्रमुख खत्रीले बताए । बिमा रकम भने १ वर्ष भित्रमा एक पटकका लागि मात्रै दाबी गर्न सकिने उनको भनाइ छ । बिमा कम्पनीले यो प्रावधान ल्याएसँगै सर्वसाधारणमा कोरोना बीमा गर्नेहरुको आकर्षण बढेको खत्रीको भनाइ छ ।