जनकपुर, ३ जेठ-कोरोना भाइरसबाट संक्रमितहरूलाई दिइने सुबिधा र उपचारको व्यवस्थापनलाई लिएर प्रदेश सरकारको चर्को आलोचना भइरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज वीरगञ्जको अनुमगन गरेका छन् ।
मुख्यमन्त्री राउत गत १ सातादेखि काठमाडौंमा बस्दै आएका थिए । पार्टीको मूल समितिहरू निर्माण भइरहेकाले पद लिन कसरत गरिरहेका उनको प्रदेशभरी कडा आलोचना भइरहेको थियो । कतिले मुख्यमन्त्री हराए खोजी गरिदिन अनुरोध भनेर समाजिक सञ्जालमा स्टाटससमेत लेखेका थिए ।
कोरोना महामारीले उग्ररूप लिन थालेको बेलामा वीरगञ्जमा पुगेका मुख्यमन्त्री राउतले पर्साको समग्र अवस्था र सरकारले गर्नुपर्ने कामबारे सरोकारवालासँग सल्लाह लिएका छन् । साथै, उनले कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरोकारवालाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री राउतले आइसोलेसन तथा क्वाइरेन्टाइनमा देखिएका समस्याहरू, अगामी दिनमा थपिन सक्ने संक्रमितको उपचारको तयारी, विदेशमा रहेका नागरिकलाई फिर्ता ल्याउनुपर्ने अवस्थाको लागि गर्नुपर्ने तयारीबारे पनि छलफल गरेका थिए ।