काठमाडौं, ३ जेठ-धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न चिकित्सकसहितको टोलीलाई क्वारेन्टाइनमा राखिएको छ । मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ देखिएपछि उपचारमा संलग्न टोलीलाई क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
‘उपचारमा संलग्न सबैलाई क्वारेन्टाइनमा राखिएको छ,’ अस्पतालका एक डाक्टरले भने, ‘अस्पतालको दिउँसो बसेको बैठकले सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।’ अहिले अस्पताल क्षेत्रमा उच्च सतर्कता पनि अपनाइएको छ ।
९ दिनअघि काठमाडौंकाे महाराजगन्जस्थित टिचिङ अस्पतालमा सुत्केरी भएर सिन्धुपाल्चोक बाह्रबिसे घर गएकी थिइन् । अत्यधिक ज्वरो आएपछि उनलाई बिहिबार धुलिखेल अस्पताल ल्याइएको थियो । उनको कोरोना पुनः परीक्षण गर्नका लागि स्वाबको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
यस्तै, महिलाको मृत्यु बारेमा अनुसन्धान गर्नका लागि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल गएको छ । उनको परिवारका सदस्यहरूको पनि स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने भएको छ ।