काठमाडौं, २९ वैशाख-राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले वर्तमान आवश्यकता र नयाँ सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/०७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै नयाँ आवश्यकता र नयाँ सोचका आधारमा सरकारले बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका हुन् । कोभिड- १९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमबाट परेको आर्थिक प्रभावलाई मध्यनजर गरी बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने तर्क उनले बताएगरे ।
वर्तमान आवश्यकतालाई मध्यनजर नगर्दा निरन्तरको बजेट हुने भन्दै उनले त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । बजेटलाई अनावश्यक महत्त्वाकाड्क्षी नबनाईकन आर्थिक अवस्थालाई चलायमान बनाउने गरी आकार निर्धारण गरिनुपर्ने तर्क उनले गरे ।
उनले भने, ‘प्राथमिकता अमूर्त अमूर्त हुन खोज्दै छ, प्रि-बजेट छलफलमा आएको त्यो वक्तव्यमा । यसैले प्राथमिकता स्पष्ट हुनुपर्छ । कोभिड- १९ रोकथाम नियन्त्रण र उपचार, विपद् जोखिम न्यूनीकरण व्यवस्थापनका निम्ति आवश्यक व्यवस्थामा ध्यान हुनुपर्छ । त्यसको सेरोफेरोमा हामी मुक्ति पाइसकेका छौँ भन्ने ठान्नुहुँदैन । यो दिशातर्फ जानुपर्छ ।’