एजेन्सी, बैशाख २८-संसारकै सबैभन्दा धनी देशको सूचीमा गनिने स्वीट्जरल्यान्डमा शनिबार एउटा तस्बिरले सबैलाई अचम्मित पार्यो । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार एक हजारभन्दा बढी मानिस निःशुल्क खाना खानका लागि लाइनमा बसेका थिए ।
स्वीट्जरल्यान्डको जेनेभामा शनिबार साँझ निःशुल्क खानाका लागि लाइन लागेका हुन् । खानाका लागि लाइनमा बस्नेहरुमा गरिब कामदार र बिना कागजात बसिरहेका आप्रवासीहरु थिए ।
कोरोना भाइरसको महामारीले संसारका धनी देशहरुमा समेत समस्या सिर्जना भइरहेको यसले पुष्टि गरेको छ । यो लाइन एक किलोमिटर भन्दा लामो थियो । जहाँ केही स्वयम्सेवीले निःशुल्क खानका १ हजार ५ सय प्याकेट बाँडेका थिए । स्थानीय समयअनुसार साँझ ५ बजे लाइन सुरु भएको थियो ।
८६ लाख जनसंख्या भएको स्वीट्जरल्यान्डमा २०१८ मा ६ लाख ६० हजार मानिस गरिब थिए । स्वीट्जरल्यान्डमा कम पढेलेखेका एकल अभिभावकका सन्तानहरु गरिब पाइएका थिए ।
उनीहरुलाई काम खोज्न कठिन हुने गर्छ । स्वीस बैंक युबीएसका अनुसार जेनेभा तीन सदस्य भएको परिवारका लागि दोस्रो सबैभन्दा महंगो सहर हो । तर यहाँका मानिसको औसत आय राम्रो रहेको पाइन्छ ।