एजेन्सी, बैशाख २३-स्पेनिस ला लिगाका बाँकी खेलहरु आगामी जुन महिनामा सुरु गर्ने तयारी थालिने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको ला लिगाका खेलहरु पुनः खेलाउने तयारीमा आयोजक जुटेका हुन् ।
स्पेनमा कोरोना भाइरसका नयाँ संक्रमित र मृत्यु हुने संख्यामा केही कमी आएपछि लकडाउन समेत खुकुलो पार्न सुरु गरिएको छ । यसै साताबाट क्लबहरुले नयाँ प्रशिक्षण सुरु गर्दैछन् ।
यो साता शीर्ष दुई डिभिजनका खेलाडीहरुले व्यक्तिगत प्रशिक्षण सुरु गर्न सक्नेछन् । तर प्रशिक्षणका लागि खेल तथा स्वास्थ्य अधिकारीसँगको परामर्शमा सुरक्षात्मक उपायहरु भने अपनाइनेछ ।
प्रशिक्षणमा फर्किनु पूर्व सबै खेलाडीको कोरोना परीक्षण समेत गरिनेछ । कोरोना भाइरसको महामारी सुरु भएपछि गत मार्चको सुरुदेखि सबै खेलकुद गतिविधि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
स्पेनिस ला लिगाका बाँकी खेलहरु सुरु गर्ने सम्बन्धमा बनाएको योजनाअनुसार सुरुमा व्यक्तिगत प्रशिक्षण, त्यसपछि केही खेलाडीहरुको सानो समूह बनाएर प्रशिक्षण गराउने र त्यसपछि मात्रै टिम प्रशिक्षण गराइनेछ । कोरोना भाइरसको संक्रमण नियन्त्रण हुँदै जाने क्रम जारी रहेमा खेल सुरु गर्नका लागि एक महिनाको समय लाग्ने ला लिगाले जारी गरेको वक्तव्यमा जनाइएको छ ।