विराटनगर, बैशाख २१–लकडाउनको समयमा सामाजिक दुरीलाई बेवास्ता गर्दै ठूलो भीड लागेको पाइएपछि सुनसरीको इटहरीमा लगाइएको तरकारी बजार उठाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दूरी कायम राख्न र अनावश्यक रुपमा घरबाहिर ननिस्कन भन्दै लकडाउन लगाए पनि ठूलो संख्यामा भीड भएपछि इटहरीको बजार उठाइएको हो।
इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरीलगायत सरोकारवाला निकायहरुको छलफलले बिहान ७ बजेदेखि १० बजेसम्म सामाजिक दूरी कायम गरी बजार सञ्चालन गर्ने सहमति गरेको भए पनि त्यसको बेवास्ता गरि लगाइएको बजार उद्योग वाणिज्य संघ इटहरीको सक्रियतामा उठाइएको हो ।
सामाजिक दूरी कायम नगरी मेला जस्तै गरी कोरोनाको संत्रास समाप्त भई सकेर बजार खुलेको झै गरी सञ्चालन गरिएको हाट बजारलाई आफुहरुले अनुरोध गरि हटाएको उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले बताए ।
इटहरी बाहिर टाढा–टाढादेखि समेत व्यापारीहरु तरकारी बिक्रीका लागि आएको पाइएका कारण जोखिम बढ्नेतर्फ मध्यनजर गरि बजार उठाउन आग्रह गरिएको पोखरेलले जानकारी दिए ।
बाहिरबाट समेत व्यापारीहरु आउने तथा ठूलो संख्यामा मानिसहरु भेला हुँदा जोखिम बढ्नेतर्फ मध्यनजर गर्दै बाहिरबाट आउने व्यापारीहरुलाई नआउन आग्रह गर्दै स्थानीय व्यापारीहरुलाई समेत आफ्नो सटर अगाडि सामाजिक दूरी कायम गर्दै सामानहरु बिहान ७ बजेदेखि १० बजेसम्म बिक्री वितरण गर्न आग्रह गरिएको उद्योग वाणिज्य संघ इटहरीका सदस्य विष्णु रिजालले बताए ।
बजारमा तरकारी बिक्रीका लागि आएका व्यापारी कोकिल थापाले भने कोठा भाडा गरेर बस्दै आएको लामो समयदेखि लकडाउन भएको कारण समस्यामा पर्दै आएको र बजार खुलाउने सहमति भएबमोजिम आफूहरुले तरकारी विक्रीका लागि ल्याएको बताए ।
इटहरीमा लकडाउन निकै कडा पारिएको समयमा यसरी सामान्य अवस्थामा झैं तरकारी बजार लाग्नु र यसरी लागेको तरकारी बजारमा मानिसहरुको भिड बढ्नु भनेको कोरोनाको जोखिम निम्त्याउनु मात्र भएको सरोकारवाताहरुले बताएका छन् ।
यसरी टाढाटाढाबाट व्यापारीहरु आउँदा र उपभोक्ताको भीड लागिरहँदासमेत उपमहानगरपालिकाले थाहा नपाउनले उपमहानगरपालिका कहाँ छ भनेर खोज्ने अवस्था आएको भान हुन थालेको स्थानीयले आरोप लगाएका छन् ।