जनकपुरधाम, १७ वैशाख-धनुषामा पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका-७ स्थित देवडीहामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।
देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक साइकलमा आएको र घाम छल्न रुखमूनि छहारीमा बसेको जस्तो प्रारम्भिक अनुसन्धानले देखाएको धनुषाका प्रहरीका नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । प्रहरीले अनुसन्धान सुरु गरेको भए पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।