उदयपुर र वीरगंजका संक्रमितको सम्पर्कमा आएका आशंकामा ५४९ जनाको नमुना संकलन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले उदयपुर र वीरगंजमा भेटिएका संक्रमितको कन्ट्रायक ट्रेसिङका आधारमा ५४९ जनाको पीसीआर प्रविधिबाट परीक्षणका लागि नमुना संकलन गरिएको बताएका हुन् ।
उनका अनुसार उदयपुरबाट सोमबार १ सयसहित ३ सय २० वटा नमुना पिसिआर परीक्षणका लागि संकलन भएका छन् । यसैगरी वीरगञ्जबाट २ सय २१ जनाको नमुना संकलन भएर परीक्षणका क्रममा रहेको प्रवक्ता देवकोटाले बताए ।
ती नमुनाको टेकु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालमा परीक्षण भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली वीरगञ्जलाई लक्षित गरेर ट्रेसिङ र टेस्टिङका लागि त्यहाँ पुगिसकेको छ ।