जनकपुरधाम, ७ वैशाख -जनकपुरधामको महावीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ । प्रदेश प्रयोगशालाका निमित निर्देशक रामविनय साहले सो जानकारी दिएका हुन् ।
उनका अनुसार कोरोना महामारी संक्रमणको बेला जनकपुरधाममा पैसा फालेर भागेकी नन्द-भाउजूमा शनिबार गरिएको आरडीटी परीक्षणमा पोजिटिभ भेटिए पनि पीसीआर परीक्षणमा नेगेटिभ भेटिएको हो ।
आरडिटीमा पोजिटिभ देखिएको पीसीआरमा नेगेटिभ हुनु कुनै नौलो होइन, आरडीटीले परीक्षणपछि अन्यमा सर्न नदिन सुरक्षा सर्तकताका लागि गरिन्छ, तथापि पीसीआर रिपोर्टलाई चिकित्सकहरूले अन्तिम परिणामको रूपमा अघि सार्ने गर्छन् ।
जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने २ महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरी प्रादेशिक अस्पतालमा आरडीटी परीक्षण गरेको थियो । तर, आरडिटीमा पोजिटिभ देखिए पनि पीसीआरमा नेगेटिभ देखिएको छ ।
जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेका यी महिलालाई शंकाको आधारमा पक्राउ गरी शनिबार आरडीटी परीक्षण गरिएको हो । प्रदेश प्रयोगशालाका निमित निर्देशक साहले आरडीटी पोजिटिभ देखिए पनि पीसीआर नेगेटिभ देखिनु सामान्य भएको बताए ।
‘आरडिटी प्रारम्भिक जाँच हो, यसमा हामी भर पर्दैर्नौ तर सावधानीका लागि यो भरपर्दो हो,’ उनले भने, ‘तैपनि पीसीआर रिपोर्ट आएपछि मात्र हामी कोरोना संक्रमित पुष्टि गर्छौं ।’