काठमाडाैं, ४ वैशाख-दुबईमा धेरै नेपालीलाई राेजगारदाता कम्पनीले बेतलबी बिदामा बस्न बाध्य पारेकाे पाइएकाे छ । त्यहाँबाट नेपाल फर्किन चाहेका नेपालीमध्ये ७६ प्रतिशत बेरोजगार पाइएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वदेश फर्किन चाहनेहरूको तथ्याङ्क थाहा पाउन अनलाइनमार्फत विवरण संकलन गरेकाे थियाे । त्यसमा फर्म भर्नेमध्ये सबैभन्दा धेरै बेतलबी बिदामा बस्न बाध्य पारिएकाहरू भेटिएका हुन् ।
संघले दुबईस्थित नेपाली राजदूतावास, दुबईमा बुझाएको पत्रमा पाँच दिनयता फर्म भरेका झण्डै पाँच हजारमध्ये ३५ दशमलव ८ प्रतिशत नेपाली श्रमिकले आफू बेतलबी बिदामा बस्नु परेको बताएका उल्लेख छ ।
यसैगरी, २० प्रतिशतले आफ्नो आवासीय भिसाको म्याद सकिएको बताएका छन्, ११ प्रतिशत भिजिट भिसाको म्याद सकिएकाहरू भेटिएका छन् ।
फर्म भर्नेमध्ये २३ प्रतिशतले अहिले पनि दिनहुँ आफू ड्युटीमा जाने गरेकाे बताएका छन् । अनलाइन फर्म भर्नेहरूमध्ये ८५ दशमलव ५ प्रतिशतले आफूहरूको स्वास्थ्य परीक्षण नगरिएको बताएका छन् भने १४ दशमलव ५ प्रतिशतले परीक्षण गरिएको बताएका छन् ।