एजेन्सी, बैशाख ४-अमेरिकाले कोभिड- १९ को सवालमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गरेको काममा असन्तुष्टि जनाउँदै आफूले दिँदै आएको सहयोग रोक्ने निर्णय लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो सहयोग रोक्नका लागि आफ्नो प्रशासनलाई निर्देशन दिइसकेको छन् ।
अमेरिकाले गत वर्ष मात्र डब्लूएचओलाई करिब ४० करोड डलर सहयोग गरेको थियो । विश्व नै सङ्कटग्रस्त भएको अवस्था र डब्लूएचओले थप काम गर्नुपर्ने समयमा अमेरिकाको यस्तो निर्णयप्रति अमेरिकामा समेत विरोध भएको छ ।
चीन, युरोपेली मुलुकलगायतले आपत्ति जनाउँदै सक्दो सहयोगको प्रतिवद्धतासमेत जनाएका छन् । डब्लूएचओका लागि अमेरिका सबैभन्दा ठूलो सहयोगी साझेदार हो । गत वर्ष डब्लूएचओको वार्षिक बजेट साढे २ अर्ब डलरभन्दा बढी रहेकामा अमेरिकाले मात्र ४० करोड डलर सहायता उपलब्ध गराएको छ ।
डब्लूएचओका लागि अमेरिका ठूलो साझेदार जस्तै नेपाल जस्ता देशको स्वास्थ्य क्षेत्रमा डब्लूएचओ मुख्य साझेदार हो । नेपालमा डब्लूएचओले आर्थिक, प्राविधिक र जनशक्तिको समेत सहयोग गरेको छ ।