भद्रपुर, ३ वैशाख-झापाको इँटा उद्योगमा काम गरिरहेका ३ हजार जना भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् ।
इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष गुणराज थापाका अनुसार भारतको विहार र पश्चिम बङ्गालबाट गत असोजमा आएका भारतीय मजदुर चैत अन्तिमतिर काम सकेर घर फर्किने तयारीमा थिए ।
लगातारको बन्दाबन्दीले उनीहरु घर जान पाएनन् । काम लगाउने उद्योगले नै सुरक्षित तवरले खानेबस्ने व्यवस्था मिलाइरहेको छ । झापामा २७ इँटा उद्योग सञ्चालनमा रहेकामा करिब १२ उद्योग बन्दाबन्दीका बेला पनि चालू छन् । पानी पर्न सुरु गरेसँगै इँटा बनाउने काम रोकिएको छ ।
कतिपय भारतीय मजदुर परिवारसहित छन् । तिनका बालबच्चासमेत उद्योगमै छन् । उद्योगले बनाइदिएको अस्थायी आवासमा उनीहरु आफैँ खाना पकाएर खान्छन् ।
उनीहरुलाई चामल, दाल, तेल, नुन र तरकारीलगायतका सामग्री उद्योगीहरुले आवासगृहमै पु¥याइदिने गरेका छन् । बन्दाबन्दीमा उद्योगभित्रै रहेका कामदारको नियमित स्वास्थ्य परीक्षण गरिएको गौरादह वडा नं ८ का वडाध्यक्षसमेत रहनुभएका शिवशक्ति इँटा उद्योगका सञ्चालक सीताराम भट्टराईले बताए ।
उद्योगमा काम नभए पनि मजदुरलाई बिचल्ली नपारिने उनको भनाइ छ । उनीहरुलाई नियमित हात धुने साबुनपानी, मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरिएको बताउँदै उनले इँटाभट्टामा काम गर्दा समेत सामाजिक दूरी कायम राख्न लगाइएको जानकारी दिए ।
नेपाल इँटा उद्योग सङ्घका केन्द्रीय सहसचिव जगन्नाथ खनालले नेपालका इँटा उद्योगमा रहेका भारतीय मजदुरलाई तन, मन र धनले सहयोग गरिरहेको बताए । रासस