काठमाडौं, १ वैशाख-नेपालका होस्टल व्यवसायीहरूले सरकारलाई क्वारेन्टाईन स्थल निर्माणमा सहयोग गर्ने भएका छन् । नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकद्वारा सोमबार जारी गरिएको शुभकामना मन्तव्य तथा सार्वजनिक आव्हानसहितको वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
‘हामीले राज्यले आवश्यक ठानेको खण्डमा कोभिड–१९ का सम्भावित सङ्क्रमितको लागि आवश्यक पर्ने क्वारेन्टाइन निर्माणको लागि आवश्यक पर्ने बेड तथा भवनहरू समेत सरकारलाई उपलब्ध गराउने निर्णय गरेका छौँ’ पाठकले जारी गरेको वक्तव्यमा लेखिएको छ, ‘नेपाल सरकारलाई यसै सन्देश मार्फत आवश्यक परे हाम्रो तर्फबाट जस्तोसुकै सहयोग उपलब्ध हुने समेत जानकारी गराउन चाहन्छौँ ।”
उनले सरकारलाई भौतिक सहयोग गर्ने निर्णय एसोसिएसनको अनलाइन बैठकले गरेको समेत उल्लेख गरेका छन् । आफूहरूको निर्णयबारे स्पष्ट पार्दै पाठकले भने, ‘यो बेला सबै क्षेत्र, वर्ग, व्यवसायी र समुदायले सरकारलाई सहयोग गर्ने समय भएकोले कर्तब्यबोध गर्दै यो निर्णय गरिएको हो ।’
एसोसिएसनका केन्द्रीय सल्लाहकार दीपक बरालले सरकारलाई आवश्यक परेको खण्डमा तीन सय भन्दा बढीलाई क्वारेन्टाइनमा राख्न सक्ने गरिको संरचना उपलब्ध गराउन आफू स्वयम् समेत तयार रहेको जानकारी दिए । उनले यो विषम परिस्थितिमा होस्टल व्यवसायीहरूले थोरै सहयोग गर्दा समेत त्यसले राज्यलाई महत्त्वपूर्ण सहयोग पुग्ने ठहर गरी यस्तो निर्णय गरेको बताए ।