स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत ‘विशेष कक्षा’ सञ्चालन गर्ने भएको छ ।
कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर महामारीको रूप लिइरहेको बेला एसइईको अन्तिम तयारीको अवस्थामा अकस्मात परीक्षा स्थगन भएपछि विद्यार्थीमा रहेको निराशा हटाई थप उत्साहित बनाउँदै पुनर्ताजगी बनाउने उद्देश्यले ‘विशेष कक्षा’ सञ्चालनको तयारी गरिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
कोभिड–१९ को महामारीले निराशा मात्रै हुने नभई एकान्तबासको अवधिमा वैकल्पिक उपायको खोजी गर्दै अगाडि बढ्ने क्रममा पहिलो पटक ‘विशेष कक्षा’ सञ्चालनको तयारी गरिएको नगरप्रमुख खाँणको भनाइ थियो ।
विशेषगरी अहिले अङ्ग्रेजी, गणित र विज्ञान विषयका विषयगत शिक्षकले स्टुडियोबाट पढाउने गरी व्यवस्था मिलाइएको पूर्णामृत भवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दीपक लम्सालले बताए ।
एकान्तबास अवधिमा बाहिर हिँड्न नपाइने र घरमै बसेर प्रविधिको प्रयोग गरेर शिक्षा आर्जन गर्न पाइने भएकाले पनि ‘विशेष कक्षा’ प्रभावकारी हुने सहायक प्रअ लम्सालले जिकिर गरे ।
आगामी बिहीबारबाट प्रत्येक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म एकघण्टा सामुदायिक रेडियो आँधीखोला र वालिङ टेलिभिजन एचडीबाट ‘विशेष कक्षा’ सञ्चालन थाल्ने वालिङ टेलिभिजनका व्यवस्थापक मणिप्रसाद अर्यालले बताए ।
विद्यार्थीले आफूलाई जिज्ञासा लागेका प्रश्न कक्षा सञ्चालन हुनुपूर्व स्टुडियोमा टिपाउन वा प्रत्यक्षरूपमा शिक्षकलाई टिपाएर समस्याको समाधान पनि गर्न सक्ने व्यवस्थापक अर्यालले बताए । रासस