जनकपुरमा रूघाखोकीको बिरामी हेर्नेबित्तिकै चिकित्सकहरू उपचार गर्न डराउन थालेका छन् । अस्पतालमा भर्नासम्म गरिएको छैन । यही डरका कारण धनुषाधामको मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदालाई प्रादेशिक अस्पतालसम्मले भर्ना गरेनन् । सदा शुक्रबार बिहान सिकिस्त बिरामी भइन् । पहिलादेखि नै मुटुरोगी सदालाई ज्वरो आएर श्वास फेर्ने गाह्रो भयो ।
बिरामी आमालाई छोरा कारी सदाले उपचारका लागि जनकपुरधाम उपमहानगरपालिका– ८ स्थित गोदावरी मोडर्न अस्पतालमा भर्ना गराए । तर, त्यहाँ चिकित्सकहरूले मरनीलाई डाइग्नोसिस गर्दा कोरोना भाइरस कोभिड १९ भनेर लेखिदिए । यस अस्पतालमा उपचार सम्भव नरहेको भन्दै ‘रेफर टु बेटर सेन्टर’ पुर्जामा लेखेर प्रादेशिक अस्पताल जनकपुरधाम लैजान सुझाए । यसपछि त कुनै अस्पतालले भर्ना गर्नै मानेनन् ।
बिहान १० बजे कारी जेनतेन आमालाई अटोमा राखेर प्रादेशिक अस्पताल जनकपुरधाममा आईसीयूमा भर्ना गराउन ल्याए । तर, चिकित्सहरूले प्राइभेट अस्पतालको पुर्जा हेरेपछि बिरामी मरनीलाई आईसीयूको ढोकामा समेत छिर्न दिएनन् ।