नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीले दैनिक पत्रिकाको छापा संस्करण तत्कालका लागि बन्द गर्न आह्वान गरेको छ ।
विश्वाव्यापी रूपमा फैलिएको कोविड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि सोसाइटीले यस्तो आह्वान गरेको हो । पत्रकारसँगै अखबारमा काम गर्नेको सुरक्षालाई मध्यनजर गर्दै पत्रिका बन्द गर्न आह्वान गरिएको मिडिया सोसाइटीले जनाएको छ ।
सोसाइटीको आह्वानमा ऐक्यबद्धता जनाउँदै नेपाल समाचारपत्र र कारोबार दैनिकले आइतबारदेखि छापा प्रकाशन बन्द गर्ने भएका छन् । नेपाल समाचारपत्रका प्रबन्ध सम्पादक वीरेकलाल श्रेष्ठले सोसाइटीको आह्वानअनुसार आइतबारदेखि पत्रिका प्रकाशन स्थगित गर्ने निर्णय भएको शिलापत्रलाई जानकारी दिए ।