काठमाडौं, चैत ५–सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको हो ।
सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन पनि सबैलाई आह्वान गरेको छ । समितिको बुधबारको बैठकले सांस्कृतिक, सामाजिक कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जित, चर्चजस्ता धार्मिक र सार्वजनिक सथलहरूमा २५ जनाभन्दा बढी मानिस भेला हुन पनि प्रतिबन्ध लगाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताए ।