जनकपुर, माघ २७–जनकपुरधाम उपमहानगरपालिकाको काम कारबाही करिब ३ महिनादेखि ठप्प छ । प्रदेश २ को अस्थायी राजधानीको उपमहानगरको आर्थिक कारोबार ठप्प हुँदा कर्मचारीहरूले कात्तिक महिनादेखिको तलब पाउन सकेका छैनन् भने पालिकाअन्तर्गतका शिक्षकहरू समेतले ३ महिनादेखि तलब भत्ताको भुक्तानी पाउन सकेका छैनन् ।
उपमहानगरमा लेखा अधिकृतको आभावमा प्रशासकीय अधिकृत धर्मानन्द जोशीकै नाममा खाता सञ्चालन भएको थियो । तर, नगर प्रमुख लालकिशोर साहले अवैध काममा समेत सिफारिस र आर्थिक कारोबार भुक्तानीका लागि दिँदै आएको दबाबका कारण उनले पुसको दोस्रो सातामै सरुवा गराएपछि जनकपुरधाम उपमहानगरपालिकाको खाता नै सञ्चालनमा नरहँदा आर्थिक कारोबार ठप्प भएको बताइएको छ ।